तरकारी बोटमै बुढिँदै गएपछि बगरखेती गर्ने किसान निराश

रामेछाप खबर संवाददाता

वैशाख,३० काठमाडौं ।

बगरैभरि किसानको मेहेनत हाँसेको छ । कतै घिरौंला त कतै फर्सीका हरिया कैंडा (गट्टा) । त्यहीँ नै माचमा लौका भुण्डिएका छन्, कतै भिण्डी (रामतोरइ, रामझिङनी) बोटभरि हुर्कँदै । महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरको पुरानो रातु बगर (हालको नदीउकास बगर) अहिले किसानको लगन र मेहेनतले लहलहाएको छ । तर, जारी लकडाउनले फसल (उत्पादन) बजार पुर्‍याउन नसक्दा भने किसान बिरक्तिएका छन् ।

सग्रामपुर र पर्साका किसानले पहिलेको बगरको २०५ बिघा बलौटे जग्गा खनी–खोस्री गरेर नङ्रा खियाउन थालेका पाँचवर्ष भएको छ । यसअघिका वर्षमा उत्पादित फसलले राम्रै कमाई दिएपनि यसपालीभने वैशाखी तरकारीको मुख्य बेलामै भएको लकडाउनले तरकारी बोटमै बुढिदै गएका बगर खेती गर्दै आएका किसानको साझा गुनासो छ ।

“पहिलो वर्ष त बगरका ढुङ्गा र खस्रो बालु केलाउँदै र छेउ लगाउनमै गयो” बगर खेतीगर्दै आउनु भएकी पर्सा बस्तीकी रामज्योति हुजदार थारुले बगर बगैँचास्थलमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “त्यसयताका वर्ष उत्पादन र आर्जनमा ठिक रहे, तर यसपालि लकडाउनले भने करङ भाँच्यो ।” पछिल्लो बितेको २०७६ पनि पुससम्म राम्रो उत्पादन र बजार पाइएको रामज्योतिसहितका किसानको भनाइ छ । पुस मध्यताका वैशाखी तरकारी लगाइएको र चैतदेखि फल्न थालेको यो फसललाई भने लकडाउनले बजार पु¥याउन नदिएको पर्सा बस्तीकै बृन्दादेवी हुजदार थारू बताउनुहुन्छ ।

“हेर्नोस्, फलपूलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ”, बृन्दादेवीले भन्नुभयो, “तर, तरकारी टिपेर बजार पुर्‍याउन सकिएन, खोज्दै यहीँ आउने व्यापारीले जेजति लगे।।लगे ।” लकडाउनले गर्दा भाउपनि व्यापारीकै चल्दा यसपालिको वैशाखी तरकारीको आर्जन लिन नसकिएको यहाँका किसान बताउँछन् ।

बगरमै भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला चार वर्षयता तरकारी बाली लगाएर प्रशस्त आम्दानी गर्दै आएका थिए । भङ्गाहा–६ का पर्सा, सग्रामपुर र वडा–७ धनषपुरको माझमा रहेको विगतमा रातु नदीले बगर बनाएको २०५ बिघा जग्गा किसानको मेहेनत र लगनले ‘सुन’ फल्न लागेको हेर्न जानेको प्रतिक्रिया हुने गरेको छ । “यसअघिका वर्ष राम्रै थिए, यसपालि माहामारीले धोका दियो”, बगरखेती गर्ने भङ्गाहा–७ को दलित बस्तीकी रामरतिदेवीले भन्नुभयो, “सधैँ एकनासको समय हुँदोरहेनछ, के गरौँ रु यसपालि उत्पादन राम्रो भएर पनि बजार पुर्‍याउन नसक्दा थला पर्‍यौँ ।”

विगतमा रातु नदीको बाढीले उर्वर जग्गा काटेर बगर बनाएपछि सुकुम्वासी बनेका किसान पछिल्ला पाँच वर्षयता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवास ९बोलीचालीमा पैरवीमञ्च० को साथ पाएपछि बगरमा ‘सुन’ फलाउने भएका हुन् । यसपालि वैशाखी सिजनमा उत्पादन राम्ररी बेच्न नपाए पनि सधैँ यस्तो प्रतिकूल समय नहुने आसले किसान सन्तोष गर्दैछन् ।

रामज्योतिको एक बिघा नदीउकास जग्गामा ७६ वटा आँपका कलम हुर्कँदैछन् भने त्यहीँ जग्गामै परवल, लौका, बोडी, करेलासहितका लहरे तरकारी बाली लहलहाएको देखिन्छ । रामज्योतिजस्तै पर्सा बस्तीका बिन्दादेवी हुजदार र पुनमदेवी हुजदार पनि अहिले रातदिन बगर बगैँचा र त्यहाँको तरकारी खेतीमा व्यस्त देखिन्छन् । आफ्नो १२ कठ्ठा बगर खेतमा ५६ आँपका रुख लगाउनुभएका किसान शङ्कर हुजदारले बितेको २०७६ मा खोर्सानी, हर्दी ९बेसार०जस्ता मसला र मौसमी तरकारी बालीबाट दुईलाख बचत भएको बताउनुभयो । बगर बगैँचा र तरकारी खेती थालेका यहाँका किसानले मौसमी तरकारी खेतीमात्र लगाउने गरेका छन् ।

“बेमौसमी तरकारी खेतीमा विषादीको धेरै प्रयोग गर्नुपर्छ”, किसान बिन्दादेवी हुजदारले भन्नुभयो, “बेमौसमी तरकारी खेती महङ्गो र स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ नि १ त्यसैले हामी मौसमी तरकारी खेतीमात्र गर्दै आएका छौँ ।” विसं २०३० को बाढीले जग्गा सबै काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारू लालपुर्जामा जग्गा भए पनि सुकुम्वासी भएका थिए । विसं २०६४ यता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदीउकास भएको यहाँको बगरमा पैरवी मञ्चले बगरखेती गर्न किसानलाई उत्साहित बनाएको हो । पछिल्ला पाँच वर्षयता यहाँका आदिवासी थारू अब्बल किसानमा दरिएका छन् ।

भङ्गाहा–६ र ७ को २०५ बिघा नदीउकास बगर जग्गामा अहिले मालदह, बम्बै, दशहरी, कलकतीया र जर्दा जातका १८ हजार आँपका बिरुवा हुर्कदैछन् । यसमध्ये आधाभन्दा बढी बोट यसैपालिदेखि फल्न पनि थालेका छन् । आँपबाहेक लिची र कागतीका बिरुवा पनि यहाँ हुर्किरहेका देखिन्छन् । पर्सा, सग्रामपुर र धनषपुरसहित तीन बस्तीका १०८ परिवारले बगैँचा लगाएका बगरमा मौसमी तरकारी बाली लगाएर वर्षेनी लाखौँ आम्दानी गरिरहेका सग्रामपुर बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता राजकिशोर यादवले बताउनुभयो ।

पैरवीमञ्चले पहिलोपल्ट सन् २०१५ मा त्यहाँका बाढी पीडित किसानलाई सङ्गठित गरेर ‘रातुखोला फलपूmल तथा वृक्षरोपण आयआर्जन समूह’ गठन गरेर खेतीमा लाग्न उत्साहित गराएको हो । त्यसयता किसानले रातदिन नभनी गरेको मेहेनतले बगर हराभरा भएको छ । किसानलाई पैरवीमञ्चले आँप, लिची र कागतीका बिरुवा तथा तरकारीका बिउविजन र प्राविधिक सहयोग पु¥याएको सग्रामपुर समूहका अध्यक्ष जासर यादवले बताउनुभयो । “पैरवीमञ्चले बगरमै तीनवटा बोरिङ पनि जडान गरिदिएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “मुख्य कुरा त हौसला हो, जुन पैरवीमञ्चले यहाँका किसानलाई दियो ।” यहाँका किसान आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत भएकाले प्राङ्गारिक खेती (अग्र्यानिक) गर्ने गरेका यादवको भनाइ छ । बजारमा यहाँका किसानको उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो ।

यसपालि उत्पादित तरकारी बजार पुर्‍याउन लकडाउनले नपाउँदा किसान बिरक्तिएका छन् । यद्यपि आफ्ना वरिपरिका बस्तीमा साइकलमा डुलाएर र केही व्यापारीले बगरबाटै तरकारी टिपेर भने लगेका छन् । बजारको प्रतिस्पर्धा नपाउँदा यसरी बेच्नु परेकाले भाउ राम्रो नपाइएको भन्ने यहाँका आम किसानको गुनासो छ । यसअघिका जग्गाधनी यादव र थारू जातिका किसानले बगरमा आआफ्नो पुरानो जग्गामा अहिले साँध लगाएका छन् । बगरकै नदीउकास २५ बिघा ऐलानीपर्ति जग्गा भने धनषपुरका मुसहर, चमार, दुसाध र खत्वे जातिका दलित समुदायले जोतखन गरेर बगैँचा र तरकारी बाली लगाउँदै आएका छन् । नदीउकास ऐलानी जग्गामा बगर बगैँचा र तरकारी खेती गर्न थालेपछि कमाउन पञ्जाव, हरियाणा जाने गरेका दलित परिवारका युवा पछिल्ला चार वर्षयता यतै छन् । पर्सा र सग्रामपुरका महिला किसानले आयआर्जन समूह गठन गरेर नियमित बचतसमेत गरिरहेका छन् । पछिल्ला दुई महिनामा भने बचत हुन नसकेको महिला किसानको भनाइ छ ।

बगर बगैँचा र तरकारी खेतीमा रमेका किसानले बलौटे बगर खेतमा सिँचाइको पर्याप्त सुविधा नपुगेको गुनासो पनि गरेका छन् । “के गरौँ हजुर, अहिले पानी पटायो, साँझै खङरङ्ग हुन्छ”, बगर बगैँचाका किसान चन्देश्वर हुजदारले भन्नुभयो, “हामीलाई थप पाँच÷सातवटा बोरिङ हुनसके बाली अझै बढाउन सकिन्थ्यो ।”

पर्सा, सग्रामपुर र धनषपुरका किसानको मेहेनतले बगर अब ‘सुन’ फल्ने ठाउँ बनेको पैरवी मञ्चका अध्यक्ष नागदेब यादवले बताउनुभयो । “हामीले बगरमा यसरी खेती गर्न सकिन्छ भन्यौँ, त्यहाँका किसानले टपक्क त्यो कुरा टिपेर मेहेनत गर्न थाले, पाँच वर्षमै बगर हराभरा बगैँचा बन्यो”, अध्यक्ष यादवले भन्नुभयो, “यसपालि माहामारीले वैशाखी तरकारीले राम्रो बजार नपाए पनि आँप र लिचीका बिरुवा राम्ररी हुर्केका छन् ।”

बगर बगैँचा र तरकारी खेतीको अवधारणाले विपद् व्यवस्थापन ९नदीकटान रोक्न गरिएको प्रयत्न०, महिला सशक्तीकरण (आर्जनमा महिलाको सहभागिता र स्वामित्व), जैविक विविधता, वातावरणीय अनुकूलन, जलवायु परिवर्तन अनुकूलन र जलाधार क्षेत्रको संरक्षण संवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको अध्यक्ष यादवले बताउनुभयो ।
रासस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।