नेपाली महिलामाथिको टिप्पणीले विवादमा भारतीय अभिनेत्री अनुष्का शर्मा

रामेछाप खबर संवाददाता

काठमाडौं-

भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री अनुष्का शर्मा यतिवेला विवादमा परेकी छन्।

शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेपछि उनी विवादमा तानिएकी हुन्। उनी विरुद्ध कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ।

कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको जुमटिभी इन्टरटेन्टमेन्टमा उल्लेख गरेको छ। कोभिड–१९ को संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले शर्मालाई उक्त नोटिस पठाएका हुन्।

गुरुङले सिरिजको दोस्रो श्रृङ्खलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको दाबी गरेका छन्।

सिरिजको दोस्रो शृंखलामा देखाइएको एक दृश्यमा नेपाली समुदायको लागि अपमानजनक शब्द राखिएको उनको दाबी छ। ‘नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुँदैन थियो’, गुरुङले द क्विन्टसँग भनेका छन्, ‘तर, त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको छ। त्यसैले सिरिजकी निर्मात्री अनुष्का शर्मालाई हामीले नोटिस पठाएका हौं।’

गुरुङले अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने बताउँदै त्यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने बताए।

यस्तै, अरुणाञ्चलको गोर्खा समाजले पनि यो श्रृंखलाले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ। गोर्खा एसोसियसन इन अरुणाञ्चलले निर्मात्री अनुष्का शर्माले माफी माग्नुपर्ने भन्दै यो श्रृंखलाको प्रशारण बन्द गराउन माग गरेको छ।

अमाजोन प्राइम भिडियोको ‘पाताल लोक’मा जयदीप अहलावत, गुल पनाग, नीरज काबी, अभिषेक बनर्जी र स्वस्तिका मुखर्जीको मुख्य भूमिका छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।