आज सूर्यग्रहण : नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने

रामेछाप खबर संवाददाता

काठमाडौं ।

आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ।

मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिए ।

यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ। ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने छ।

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको छ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।