काेराेना भाइरसबाट जाेगिन कस्तो मास्क लगाउने ?

रामेछाप खबर संवाददाता

कोभिड-१९ ले यतिखेर विश्वभर आतंकै फैलिएको छ। यो रोगको संक्रमण फैलन नाक र मुख छोपिने गरि मास्क लगाउनु प्रमुख कार्य रहेको अध्ययनहरुले देखाएका छन्। तर कस्तो किसिमको मास्क कुन हदसम्म प्रभावकारी हुन्छ? यो महत्वपूर्ण प्रश्न हो।

कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई जोगाउन अहिले खासगरी तीन प्रकारका मास्क प्रयोग भइरहेका छन्। विशिस्ट खालको रेस्पिरेटर (एन ९५ वा के एन ९५), मेडिकल वा सर्जिकल मास्क र कपडाको मास्क।

मास्कहरु विभिन्न पदार्थले बनेका, विभिन्न मोटाइ भएका र फरक-फरक तह भएका हुन्छन्। मास्कमा प्रयोग गरिएका कपडामा हुने प्वालको आकार, प्रकार र तिनको घनत्व महत्वपूर्ण हुन्छ। तिनको तरल पदार्थको छिटा, धुलोका कणबाट जोगाउने अनि संक्रमणबाट रोकथाम गर्ने क्षमता पनि फरक-फरक हुन्छ। यी गुणहरुले मास्क लगाएर श्वास फेर्दा कति सजिलो वा असहज हुन्छ भन्ने पनि निर्धारण हुन्छ।

कोरोना महामारीले रेस्पिरेटर र मेडिकल मास्कको चरम अभाव भएपछि घर-घरमै बनाउन सकिने कपडाको मास्कको प्रचलन व्यापक रुपमा बढ्यो। योसँगै यस्ता कपडाबाट बन्ने मास्कको प्रभावकारितासम्बन्धी ब्यापक बहस पनि भइरहेको छ र नयाँ-नयाँ अध्ययन अनुसन्धान भैरहेका छन्।

कपडाको मास्कले साना कण छान्न सक्ने प्रभावका बारेमा हामीले कोरोना महामारी आउनुभन्दा अघि नै अध्ययन गरेका थियौं। मास्कले भाइरसमात्रै होइन वायु प्रदुषण गर्ने धुलोका कणबाट पनि हामीलाई जोगाउछन्। काठमाडौंलगायत नेपालका केही सहरमा सामान्यतया अत्याधिक वायु प्रदुषण रहेको सर्वविदितै छ।

मास्कको प्रभावकारिता थाहा पाउनका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भानु न्यौपानेको नेतृत्वमा संगीता मैनाली, काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक डा. वसन्त गिरी र अमिता शर्माको समूहले अनुसन्धान गरेका थियौ‌। यो कामको नतिजा प्रतिष्ठित वैज्ञानिक जर्नल पीएर जे मा अघिल्लो वर्ष प्रकाशित भइसकेको छ।

हाम्रो अनुसन्धानको नतिजा अनुसार काठमाडौंमा मास्क लगाउनेमध्ये दुइ तिहाइैभन्दा बढीले कपडाको मास्क लगाउने रहेछन्। कपडाको मास्क अन्य प्रयोजनमा प्रयोग हुने कपडाबाट स्थानीय रुपमै बनाइन्छ र सस्तोमा पाइन्छ। अध्ययन अनुसार कपडाका मास्कमा करिब ८०-५०० माइक्रोमिटर ठूला प्वाल हुने गर्छन्। यी प्वालहरु धुलो वा भाइरसका कणभन्दा कैयौं गुणा ठूला हुन्। त्यसैले यस्ता मास्कले साना धुलोका कण रोक्न सक्ने क्षमता एकदमै कम देखिएको थियो। नेपालमा कपडाको मास्क पटक–पटक धोएर लगाउने चलन छ। लगाउँदा अनुहारमा फिट भएन भने तुना तानेर, दोबारेर लगाउने चलन पनि छ।

हाम्रो अध्ययनको चाखलाग्दो नतिजा के छ भने, कपडाको मास्क तानेर लगाउँदा त्यहा भएका प्वाल अझै ठूला हुन्छन्। धोएर लगाउँदा धुलोका कण छान्न सक्ने क्षमता मा २० प्रतिशतसम्म ह्रास आउने पाइएको छ। त्यसैले मेडिकल मास्कको तुलनामा कपडाको मास्कमा कणहरुबाट जोगाउने क्षमता निकै कम हुने पाइएको हो। हाम्रो अनुसन्धानले किन यस्तो हुन्छ भन्ने पत्ता लगाएको हो। त्यो पत्ता लगाउन हामीले नयाँ विधि प्रयोग गरेका थियौं, जुन सस्तो र सजिलो थियो।

उक्त अध्ययन गर्दा कोरोनाको कुनै संकेत थिएन। आफ्नै स्रोतसाधन प्रयोग गरेर नेपालमै गरिएको अध्ययनको यति ठूलो उपयोगिता हुन्छ भन्ने हामीले कल्पनै गरेका थिएनौं। हाम्रो उक्त अनुसन्धानको नतिजा अहिले कोरोना महामारीको अवधिमा धेरैलाई उपयोगी भएको छ। विभिन्न ५० भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले (जस्तै USA Today, Scientific America) हाम्रो उक्त अध्ययनको नतिजालाई आफ्नो लेखहरुमा उद्दृत गरेका छन् र वैज्ञानिक लेखहरुले पनि उल्लेख गरेका छन्। यस्तै गरेर विश्व स्वास्थ संगठनले पनि मास्कसम्बन्धी जारी गरेको निर्देशिकामा पनि हाम्रो उक्त अध्ययनलाई समाबेस गरेको छ। नेपालमै बसेर गरेको कामबाट विश्वलाई नै केही योगदान पुर्‍याउन सक्दा अहिले हामी निकै खुसी छौं।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।