सुनको मुल्यले एकपछि अर्को रेकर्ड बनाउँदै, तोलामा ९८ हजार नाघ्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ साउन ।

नेपाली बजामा केहि दिनदेखी सुनको मुल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको सोमबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार तोलाको ७ सय बढेर ९८ हजार २ सय रुपैयामा कारोबार भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्य जानकारी दिनुभयो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।